लगभग ५ वर्ष रापू (RAPOO) को किबोर्ड माउस कम्बो र २ वर्ष रेडरेगनको किबोर्ड माउस कम्बो चलाएपछि वास्तबमै राम्रो मेकानिकल किबोर्ड मेरो हात लागेको छ । धेरै महङ्गो नभएतापनि सहज उपलब्धता नभएकाले मैले यो किबोर्ड किन्न पाएको थिइन । मैले मेरो पछिल्लो हङकङ यात्राका क्रममा यो किबोर्ड किन्ने मौका पाएँ । नेपालमा भन्दा सस्तो र गुणस्तरीय समेत हुने आशामा हङकङको शाम सुईपो भन्ने ठाउँमा रहेको प्रसिद्ध गोल्डेन कम्प्युटर अर्क्याडमा यो किबोर्ड खरिद गरेँ ।
अजाज किबोर्डको खरीद
मैले पहिले नै उल्लेख गरें कि मैले हङकङमा यो Ajazz किबोर्ड किनेको हुँ । म र मेरा सहकर्मी मित्र रमेश भट्टराई (हामी EXIT Sir भन्छौँ) हङकङको प्रसिद्ध गोल्डेन कम्प्युटर अर्क्याडमा घुमिरहेको थियौँ । डिजिटल इलेक्ट्रोनिक्स सामानहरुका लागि स्वर्गको रुपमा रहेको हङकङको यस बजारमा विविध सामाग्रीहरु अवलोकन गर्दै मन परेका सामानहरु खरिद गर्दै घुम्दै थियौँ । यस्तैमा मलाई किबोर्डको याद आयो र Exit Sir लाई किबोर्ड पनि किन्नु पर्ने छ भनेँ । सरले हुन्छ जाऔँ भनेपछि त्यहिँ रहेको एक भब्य किबोर्ड तथा माउसको सोरुममा पस्यौँ । हामीले देख्दै नदेखेका तथा सोच्दै नसोचेका प्रकृतिका माउस र किबोर्डहरु चकित भएर हेर्दै थियौँ । यस्तैमा एक महिला मेरो नजिक आइन् र मलाई सोधिन् तपाईँ कुनै विशेष प्रकारको किबोर्डको खोजीमा हुनुहुन्छ?(Are you searching for something special?) सुरुमा मैले सोचेको थिएँ कि उनी त्यही स्टोरमा काम गर्ने एक बिक्रेता केटी थिइन्, तर उनले भन्दै गएपछि थाहा भयो उनी त त्यस ठाउँको उक प्रभावशाली व्यक्ति हुन् जो ग्याजेटहरुको समीक्षा गर्थिन् । उनले आफु स्थानीयवासी भएको भन्दै मलाई कहाँबाट आउनुभएको भन्ने सोध्न समेत भ्याइन् । मैले पनि म नेपालबाट हो, भगवान गौतम बुद्धको जन्मथलो, सगरमाथाको देश … भन्दै उनलाई नेपाल आउन निम्ता दिन पनि भ्याएँ । उनी ग्याजेट समीक्षक थिइन् र समीक्षाको लागि अर्को ग्याजेट खोज्दै थिइन् । मलाई किबोर्डहरुको बारेमा धेरै ज्ञान नभएकोले मैले उनलाई तपाईँलाई मनपर्ने रिकमेन्ड गर्नुहोस् भनेर अनुरोध गरेँ । उनले मलाई उनको मनपर्ने किबोर्डहरू देखाइन् । हामीले उनले देखाएका किबोर्डहरु र तिनका फिचरहरु चाख मानेर हेेर्यौँ । उनले हामीलाई केही थप किबोर्डहरू देखाइन् जुन असाधारण थिए र मैले त्यस्ता किबोर्डहरू छोएको वा देखेको पनि थिएन । उनले देखाएका किबोर्डहरुको मूल्य ट्याग जाँच गरें र तिनीहरूमा उल्लेख गरेको मेरो ३ महिनाको तलबको योगफल बराबरको रकम देखेपछि के भनौँ के भनौँ हुँदै आफुसँग यस्तो किबोर्ड पहिले नै भएको बताएँ । पछि मैले अजाजको यो किबोर्ड देखेँ । देख्ने बित्तिकै मलाई यो किबोर्ड मन पर्यो । महँगो त होला नै तैपनि मसँग भएको पैसाले पुग्ने रहेछ भने यही लैजान्छु भनेर उठाएँ । उनले यो किबोर्ड सस्तोमा धेरै राम्रो भएको उनले बताइन् । त्यसपछि उनी हामीबाट छुट्टिइन् । मैले Exit Sir लाई यो किबोर्ड मन परेको कुरा भनेँ । सँगै भएका किबोर्डहरुमा मूल्या ट्याग टाँसिएतापनि यसमा भने टाँसिएको थिएन । महँगो नै होला भन्ने अड्कल काटेपछी Exit Sir ले राम्रो लाग्यो भने लिनुस् पैसा नपुगे मसँग छ म दिन्छु भन्नुभयो । अरु धेरै किबोर्डहरु नेपालमा हुँदा नै हेरेको र मूल्यहरु पनि थाहा पाइराखेको मलाई त्यहाँ तेत्रो धेरै किबोर्डहरु देख्दा केही थाहा नभएको जस्तो भयो । मूल्य सोध्नलाई काउन्टरमा जाँदै गर्दा उक्त पसलकै एक सहजकर्ता भाइले हातमा यस किबोर्डका अतिरिक्त की (Replacement Keys) हरु हातमा थमाए । जसमा लेखिएको थियो प्रति की HKD 4 । ओहो एउटा कीलाई नै ४ हङकङ डलर । तैपनि मैले काउन्टरमा गएर सोधेँ । यसको मूल्य ५०० हङकङ डलर (HKD 500) भएको थाहा भयो । काउन्टरको भाइले मुस्कुराउँदै कहाँदेखी आउनुभएको भनेर सोधे । मैले पनि अघि भेटिएकि महिला मित्रलाई जे जे भनेको थिएँ तेही तेही जस्ताको त्यस्तै भनिदिएँ । उनले हङकङमा स्वागत छ भन्दै केही डिस्काउन्ट दिन तयार छु भनेपछि Exit Sir ले ४०० मा हुन्छ भनेर प्रश्न गर्नुभयो । भाइले हुँदैन ४८० सम्ममा हुन्छ भने । Exit Sir ले यो किबोर्डको लागी ४०० हङकङ डलर एकदमै उपयुक्त मूल्य हुन्छ भन्नुभयो । अन्तत भाइले ४५० हङकङ डलरमा दिन राजी भए र हामीले Ajazz AK 980 किबोर्ड किन्यौँ । यसको साथमा ACER को Ergonomic Mouse पनि किन्यौँ ।
Ajazz AK 980 Keyboard with display version price HKD 450
एयरपोर्ट ड्रामा
हङकङको विमानस्थल अधिकारीहरूले मलाई ब्यागमा कुनै ल्यापटप बोकेको छ कि छैन भनेर सोधे । मैले उनीहरूलाई मेरो ब्यागभित्र ल्यापटप छैन तर किबोर्ड छ भनें । मलाई कुनै पनि समस्या बिना जाँच पास गरी बोर्डिङ् गर्न दिइयो । पाँच घण्टाभन्दा लामो उडानपछि रातको करिब ११ बजे हामी काठमाडौं विमानस्थलमा अवतरण गर्यौँ । विमानस्थलका अधिकारीहरूले त्यति धेरै राम्रो व्यवहार गरेनन् । मैले मेरो पुरानो क्यामेराको लेन्स बिग्रेको र नेपालमा नबनिएकाले हङकङमा बनिने आशाका साथ हङकङमा लिएर गएको थिएँ । नेपाल विमानस्थलमा मैले उक्त लेन्स कसैलाई ल्याइदिएको भन्ने ठानेर प्रश्नहरु सोधिए । कस्ले पठाएको हो, कति पैसा दिन्छन् यति ल्याइदिँदा ……. । सबैजना चेकआउट गरेर गइसक्दा पनि म भनेँ प्रश्न उत्तरमा अल्मलिइरहेको थिएँ । मैले उक्त लेन्स पुरानो भएको र बनाउन लगेको भनेर देखाइदिएँ । धन्न अलि पुरानो जस्तो भएको थियो नत्र मेरो कुनैपनि सामान जतन गरेर चलाउने बानीले गर्दा नयाँ जस्तै हुन्छन् । लामो समयको प्रश्नउत्तर पछि मलाई छोडियो र घर आएँ ।
अनबक्सिङ
म घर पुग्दा सायद रातको १:०० बजेको थियो, तर किबोर्ड अनबक्स नगरी म निदाउन सकिनँ। थाकेर हत्तु भएको मेरो सरिर जुरुक्क उठ्यो र किबोर्ड निकाल्यो । मैले किबोर्ड अनबक्स गरें, ल्यापटपमा जडान गरें र जथाभावी शब्दहरु टाइप गरें । करिब ३/४ पेज टाइप गरेपछि बन्द गरेर सुतेँ । पहिलो पटक यो अजाज किबोर्ड प्रयोग गर्दा मलाई धेरै खुसी लाग्यो ।
किबोर्ड एप
यस किबोर्डको लागि आफ्नै एप थियो । जुन अनलाइनबाट मैले सजिलैसँग डाउनलोड गरें। म एपको माध्यमबाट यस किबोर्डमा लगभग सबै कुरा नियन्त्रण गर्न सक्षम भएँ । एप सहज रूपमा चलिरहेको थियो यसका कीहरु कस्टमाइज गर्ने, विशेष गरी यसमा बल्ने बत्तिहरु मिलाउने, सानो डिस्प्लेलाई नियन्त्रण गर्ने जस्ता कामहरु एपबाट गर्न सजिलो भएको थियो । यसैबिचमा मैले मेरो ल्यापटप परिवर्तन गरेँ । मैले मेरो ल्यापटप परिवर्तन गरेपनि किबोर्ड पुरानो ल्यापटपमा जोडिएको थियो र मैले जति प्रयास गरे पनि नयाँ ल्यापटपमा जडान नै भइरहेको थिएन । त्यसपछि मैले किबोर्डको साथ प्रदान गरिएको म्यानुअलमा शब्द शब्द पढ्न सुरु गरें र किबोर्डको जडान रिसेट गर्ने बिधि पत्ता लगाएँ । किबोर्ड रिसेट गरेपछि म अन्तमा मेरो किबोर्ड नयाँ ल्यापटपसँग जडान गर्न सक्षम भएँ । नयाँ ल्यापटपमा किबोर्ड एपले काम नगरेको समस्या यहाँ अझै पनि छ । मलाई अझै थाहा छैन कि यदि यो ल्यापटप समस्या हो वा रिसेट गर्ने चीजको जडानसँग केहि सम्बन्ध छ ।
विशिष्टता
98% Hot-Swappable Wired & Wireless Mechanical Keyboard with TFT Color Screen
- 98% layout with a Knob
- Triple Modes of Connections and Compatible for WIN/MAC
- Advanced 1.14-inch TFT Color Screen
- Gasket-mounted & FR4 Positioning Plate
- South-Facing RGB Backlight with 8000mAh battery
थप जानकारीका लागी Ajazz को आधिकारिक साइट – https://ajazzstore.com/products/ajazz-ak980?variant=43876905484341
अन्तमा
अन्तमा, म भन्न चाहन्छु कि यो किबोर्ड खरीद गर्दा पछुताउनु पर्नेछैन । यो किबोर्ड नेपालमा लगभग १० हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।
– जनार्दन आचार्य